काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवम् निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।





