महाधिवेशन प्रतिनिधि छनाेट गर्दै एमाले | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

महाधिवेशन प्रतिनिधि छनाेट गर्दै एमाले

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमती जुटिसकेको एमाले पदाधिकारीहरुको भनाइ छ ।

सहमती नजुटेका क्षेत्रहरुमा आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेकाे छ। निर्वाचनको समय अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरुले अनुकुलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरुसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै, प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । एमालेको ११ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनौटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

कात्तिक १५ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्यमध्ये खुला दुई जना र महिला एक जना निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने व्यवस्था छ । यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

दलितका लागि प्रति पाँचसय सदस्यमध्ये एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहने छन्। जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहने जनाइएको छ।

विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेशअनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्। त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्यमध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहने छन्।

पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुनेगरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि छनौटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ । एमालेको एघारौं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ ।

Leave a Reply