चीनमा भएकाे भीषण आगलागीमा मृत्यु हुनेकाे संख्या ९४ पुग्याे | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

चीनमा भएकाे भीषण आगलागीमा मृत्यु हुनेकाे संख्या ९४ पुग्याे

काठमाडाैं । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ । बिबीसीका अनुसार शुक्रबार बिहानसम्ममा आगलागीमा परी ९४ जनाको मृत्यु भएको छ भने उद्धारकर्ताहरूले सयौं बेपत्ता व्यक्तिहरुको खोजी गरिरहेका छन् ।

बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरबाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

एएफपी पत्रकारहरूले केही फ्ल्याटहरू अझै पनि जलेको देखे पनि आगोको तीव्रता घट्दै गएको थियो । बाँसको मचानमा लागेको आगोले ठुलो आवाज निकाल्दै धुवाँ र खरानी आकाशसम्म उडेका थिए ।

हङकङ अग्निशमन विभागका निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि छन् । उनी सहकर्मीहरूसँग सम्पर्क विच्छेद भएको केही समयमै गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका थिए । सरकारी प्रवक्ताका अनुसार ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले मृतक तथा घाइतेप्रति समवेदना व्यक्त गरेका छन् भने सहरका नेता लीले आफू ‘गहिरो दुःखी’ रहेको बताउँदै प्रभावित बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।

Leave a Reply