स्थायित्वको खोजीमा नेपालको राजनीति | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

स्थायित्वको खोजीमा नेपालको राजनीति

नेपालको वर्तमान राजनीति दीर्घकालीन सङ्क्रमणको अवस्थाबाट उकालो लाग्न सकेको छैन । लोकतान्त्रिक आन्दोलन, संविधान, संघीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धि भए पनि तिनको प्रभावकारी कार्यान्वयन कमजोर देखिएको छ । राजनीतिक हस्तक्षेप, प्रशासनिक ढिलासुस्ती र योग्य जनशक्ति उपयोग नहुनुले शासन प्रणाली जनमुखी बन्न सकेको छैन ।

 

-माेहनप्रसाद मैनाली
नेपालको समसामयिक राजनीति एउटा सङ्क्रमणकालीन यात्रा हो, जुन दशकौंअघि शुरु भएपनि अझैसम्म स्थायित्वको खोजीमै छ । लोकतान्त्रिक आन्दोलनहरू, संविधान निर्माण, संघीयता र गणतन्त्रजस्ता उपलब्धिहरू हासिल भएपनि ती उपलब्धिहरू व्यवहारमा कार्यान्वयन हुन सकिरहेका छैनन् । सत्ताको खेल, गठबन्धनको अंकगणित र व्यक्तिगत स्वार्थको घेरा तोड्न नसक्दा शासन प्रणाली जनताको अपेक्षा अनुसार काम गर्न असफल देखिन्छ ।

राजनीतिक अस्थिरता नेपालमा कुनै नयाँ कुरा होइन । चुनावपछि बनेका सरकारहरू लामो समय टिक्न सकेका छैनन् । सत्ताको भागबण्डा, सत्तासीन दलभित्रकै गुटगत प्रतिस्पर्धा र सरकार परिवर्तनको निरन्तर चलखेलले नीति निर्माण र कार्यान्वयनमा गम्भीर प्रभाव पारिरहेको छ । जसले नीतिहरु अलपत्रको अवस्थामा छन्, योजनाहरु अधुरा छन् र जनताको भरोसा दिनप्रति दिन कमजोर भइरहेको छ । शासन प्रणालीले जनताको सेवा नगरी नेताहरूको राजनीतिक सुरक्षा गर्ने माध्यम बनिरहेको छ ।

आजको शासन प्रणाली संघीय संरचनामा आधारित भए पनि त्यसको कार्यान्वयनमा अनेकन चुनौतीहरू छन् । प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार त दिइएको छ, तर स्रोत, जनशक्ति र प्रष्ट कार्यदिशाको अभावले ती तहहरू प्रभावकारी बन्न सकेका छैनन् । अझै पनि अधिकांश निर्णयहरू केन्द्रमै सीमित छन्, जसले संघीयताको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ ।

राजनीतिमा जवाफदेहिता र पारदर्शिता कमजोर हुँदा भ्रष्टाचार मौलाउँदै गएको छ । अख्तियार, सार्वजनिक लेखा समिति र अन्य निगरानी निकायहरूको प्रभावकारिता घट्दो क्रममा छ । प्रशासनिक ढिलासुस्ती, राजनीतिक हस्तक्षेप र संस्थागत कमजोरीले राज्यको भरपर्दो छवि बनाउन सकिरहेको छैन ।

राजनीतिक दलहरूले आ–आफ्ना कार्यकर्तालाई प्राथमिकता दिने संस्कारले योग्य जनशक्तिलाई शासन प्रणालीबाट टाढा राखेको छ । समावेशिता र प्रतिनिधित्वका कुरा कागजमा मात्र सीमित छन्, व्यवहारमा तिनको अभ्यास कमजोर छ । यसले सामाजिक असन्तुलन बढाउने खतरा बढेको छ ।

राजनीति स्थायित्वतर्फ उन्मुख हुनुपर्ने अवको आवश्यकता हो । दलहरूले अल्पकालीन फाइदाभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राख्नु र शासन प्रणालीलाई प्रभावकारी, जवाफदेही र जनमुखी बनाउने उपायहरूको ईमान्दार कार्यान्वयन गर्नु आवश्यक छ । जनताको भरोसा जित्ने वास्तविक माध्यम भनेको राम्रो शासन र जवाफदेही राजनीति हो, भाषण र आश्वासनको थुप्रो होइन ।

नेपालको लोकतन्त्रलाई सुदृढ पार्न अबको राजनीति विचार, नीति र जनउत्तरदायित्वमा आधारित हुनुपर्छ । शासन प्रणालीलाई जनसेवाको गतिशील संयन्त्र निर्माण गर्ने अब ढिला गर्न हुँदैन ।

Leave a Reply