मानवीय जीवन–उद्धारको सबैभन्दा सरल तर प्रभावशाली माध्यम हो रक्तदान । वैज्ञानिक प्रगति, संस्थागत सेवा र स्वयंसेवी अभियानले रक्तदानलाई सुरक्षित र सहज बनाएको छ । मानवताको सबैभन्दा व्यावहारिक सेवामध्ये महत्वपूर्ण र प्रमुख सेवाको रुपमा लिइने रक्तदान गर्नु मानवीय कर्तव्य हो ।
-माेहनप्रसाद मैनाली
रक्तदान सामाजिक सेवा मात्र होइन, मानव जीवन जोगाउने महान् कर्म पनि हो । कुनै पनि खालको प्रवचन वा नाराभन्दा बढी शक्तिशाली हुन्छ बिना स्वार्थ दिएको एक यूनिट रगत, जसले एउटा जीवनलाई मृत्युको मुखबाट फर्काउन सक्छ । आधुनिक स्वास्थ्य सेवामा रगतको आवश्यकता दैनिक रूपमा बढिरहेको छ; दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर उपचारदेखि लिएर विभिन्न दीर्घरोगका बिरामीलाई रगत अपरिहार्य छ । समाजमा रक्तदानप्रति जति चेतना फैलिनु पर्ने हो त्यस्तो भएको देखिँदैन । रक्तदान जीवनदान भन्ने नारा मानवतावादको सबैभन्दा व्यावहारिक स्वरूप हो ।
आधुनिक वैज्ञानिक रक्तदानको इतिहास सन् १९०१ बाट शुरु भएको हो । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको समयमा लाखौँ घाइते सैनिकलाई बचाउन रगतको आवश्यकता असाधारण रूपमा बढ्यो । यही आवश्यकता पूरा गर्न स्थायी ‘रक्त बैंक’ स्थापनाको अवधारणा जन्मियो । १९३७ मा अमेरिकाको शिकागोमा पहिलो आधुनिक रक्त बैंक खोलियो, जसले विश्वभर रक्तदान संस्कृतिलाई संस्थागत बनायो ।
नेपालमा नियमित, सुरक्षित र संस्थागत रूपमा रगत संकलन गर्ने काम सन् १९६६ देखि नेपाल रेडक्रस सोसाइटीले शुरु ग¥यो । आज मुलुकभर एक सयभन्दा बढी रक्तसेवा केन्द्र सञ्चालनमा छन्, जहाँ हजारौँ स्वयंसेवी दाताहरूले निःस्वार्थ योगदान दिइरहेका छन् । उनीहरूकै कारण नेपालमा हरेक वर्ष हजारौँ जीवन जोगिन पाएका छन् ।
कतिपय मिथक र अनावश्यक डरका कारण धेरै मानिसहरू अझै पनि रक्तदान गर्न हिच्किचाउँछन् । तर वैज्ञानिक तथ्य अनुसार एउटा स्वस्थ वयस्क व्यत्तिले रक्तदान गरेको हरेक तीन महिनामा सजिलै रगत पुनः उत्पादन गर्छ । रक्तदानले स्वास्थ्यमा कुनै नकारात्मक असर पार्दैन । नियमित रक्तदानले रक्तचाप, आइरन सन्तुलन र मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने स्वास्थ्यकर्मी बताउँछन् ।
रगतको अभावका कारण अस्पतालमा गरिने इमर्जेन्सी खोजी अझै चुनौतीको विषय बनेको छ । कुनै पनि बेला, हाम्रो परिवार, साथी वा आफन्तलाई रगतको आवश्यकता पर्न सक्छ । त्यसबेला कसैको निस्वार्थ योगदानले मात्र जीवन जोगाउन सक्छ । त्यसैले रक्तदानलाई ‘कसैले मागेपछि गर्ने दया’ होइन, ‘सचेत नागरिकको दायित्व’का रूपमा लिन आवश्यक छ ।
समाजलाई रक्तदानप्रति थप जागरूक बनाउनु आजको आवश्यकता हो । विद्यालय, कलेज, कार्यालय, स्थानीय संस्था, सञ्चारमाध्यम तथा युवा समूहहरूले नियमित अभियान चलाउनुपर्छ । सरकार र स्वास्थ्य संस्थाहरूले रगत संकलन, भण्डारण र वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउन आवश्यक छ ।





