काठमाडाैं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गर्नुभएको छ । उहाँले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताउनुभएको हो ।
अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र संसद विघटन भएसँगै सुशीला कार्कीको अन्तरिम सरकार बनेको थियो । अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् ।
नेकपा एमालेले संसद पुनःस्थापनको एजेण्डा अघि सारेको छ भने नेपाली काँग्रेसमा मत विभाजित छ । अन्य राजनीतिक दलहरु भने निर्वाचनमा जाने मनस्थितिमा छन् । भुसालले आफूहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गर्नुभयो । आफूहरुको पहिल्यै राजनीतिक दल रहेको बताउँदै आउने निर्वाचनमा एजेण्डासहित प्रस्तुत हुने जिकिर गर्नुभयो ।
निर्वाचनका लागि ओली एकमात्रै वाधक रहनुभएको उहाँको भनाइ छ । अरु कुनै कुराले निर्वाचन नरोकिने उहाँको स्पष्टोक्ति छ । सबै राजनीतिक दलहरुले निर्वाचनको प्रचार प्रसार गरिसकेपछि लतारिएर निर्वाचनमा आउनुको विकल्प ओलीसँग नरहेको उहाँको तर्क छ । सरकारको तयारी, राजनीतिक वातावरणको हिसावले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो ।
उहाँले ओली सहजै निर्वाचनमा नआउने तर मुलुकको राजनीति र नागरिकहरुले लतारेपछि बाध्य हुने बताउनुभयो ।





