आत्मनिर्भर नेपाल : स्वदेशी उत्पादनबाट समृद्धिको बाटो तय गरौँ ! | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आत्मनिर्भर नेपाल : स्वदेशी उत्पादनबाट समृद्धिको बाटो तय गरौँ !

नेपाल प्राकृतिक सम्पदाले धनी भए पनि खाद्यान्नदेखि इन्धन र दैनिक उपभोग्य वस्तुमा परनिर्भर बन्दै गएको छ । कृषियोग्य भूमि बाँझो राखेर रोजगारीका लागि युवाशक्ति विदेशिएको छ र स्वदेशी उत्पादनले बजार नपाउँदा देशको अर्थतन्त्र कमजोर बनेको छ ।

 

सांकेतिक तस्बिर

नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश हो । विशाल हिमाल, उपत्यका र तराईका उर्वर फाँटले नेपालको जनजीवनलाई धान्ने पर्याप्त सम्भावना राख्छ । तर यही सम्भावनाको भूमिमा हामी खाद्यान्नदेखि इन्धन, औद्योगिक वस्तु, लताकपडा, औषधि, दैनिक उपभोग्यलगायतका सामानहरु आयातमा निर्भर भइरहेका छौँ । नेपालमा उत्पादन गर्न सकिने वस्तुहरू पनि आयात गरेर उपभोग गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै जानु आर्थिक समस्या मात्र नभइ राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित गम्भीर प्रश्न पनि हो ।

नेपालको कुल आयात र निर्यातको अनुपातले नै हाम्रो कमजोर आर्थिक अवस्थाको झल्को दिन्छ । प्रत्येक वर्ष अबौँ रुपैयाँ विदेशी वस्तु आयातमा खर्च भइरहे पनि त्यसको सट्टा हामीले निर्यात गर्ने वस्तु अत्यन्त न्यून छन् । कृषियोग्य जमीन प्रशस्त भए पनि गाउँका खेत बाँझो छन् । उत्पादन गर्ने हातहरू विदेशको रोजगारीमा व्यस्त हुँदा उर्वर भूमि श्रमशक्तिविहीन बनेको छ । नेपालमा उत्पादन हुने वस्तुहरूको बजार अभावले पनि कृषक निरुत्साहित भएका छन् । किसानले फलफूल, तरकारी, दूध वा अन्न उत्पादन गरे पनि उचित मूल्य नपाएर घाटामा गइरहेका छन् । फलस्वरूप उनीहरू खेतीपातीमा रुचि देखाउन छोडेका छन्, जसले खाद्यान्न र तरकारीको समेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।

आत्मनिर्भरता भनेको सबै वस्तु स्वदेशमै उत्पादन गर्नु होइन, तर देशका मौलिक स्रोत र श्रमलाई परिचालन गरी मुख्य आवश्यकतामा स्वावलम्बी बन्नु हो । नेपाल कृषि, पर्यटन, जलविद्युत् र वनजङ्गलका स्रोतमा आधारित अर्थतन्त्र निर्माण गरेर आत्मनिर्भर बन्न सक्छ । यसका लागि कृषि आधुनिकीकरण अत्यावश्यक छ । परम्परागत खेती प्रणालीले अब प्रतिस्पर्धा गर्न सक्दैन । वैज्ञानिक खेती, सिँचाइ विस्तार, बीउ सुधार र बजार व्यवस्थापनका माध्यमबाट कृषिलाई माथि उठाउनुपर्छ । कृषक सहकारी र प्रशोधन उद्योग स्थापना गरी उत्पादनदेखि बजारसम्मको सञ्जाल बनाउन सके उत्पादनमा उत्साह बढ्छ ।

औद्योगिक पुनर्जागरण अबको मुख्य आवश्यकता हो । प्रशोधन उद्योग, कपडा, औषधि र साना हस्तकला उद्योगका ठूला सम्भावना पनि उत्तिकै छन् । सरकारले विदेशी सामान आयातमा उच्च कर लगाएर र स्वदेशी उद्योगलाई कर छुट, अनुदान र प्रविधि सहयोग दिएर संरक्षण गर्नुपर्छ । यसो गर्न सकियो भने देशभित्र रोजगारी सिर्जना हुन्छ र युवाशक्ति देशमै रहन्छ ।

जलविद्युतको क्षेत्रले नेपालको बलियो सम्भावना बोकेको छ । जलविद्युत् उत्पादन र वितरणमा प्रभावकारी नीति अपनाइयो भने नेपाल उर्जाको घरेलु आवश्यकतामा आत्मनिर्भरता हुनुका साथै विद्युत् निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन गर्न सक्छ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीतिगत स्तरमै ठूला सुधार आवश्यक छन् । विदेशी वस्तुमा उच्च कर र स्वदेशी वस्तुमा न्यून करको नीति अवलम्बन गर्नुपर्छ, जसले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउँछ । साना उद्यम र कृषि व्यवसायमा लगानी प्रोत्साहन गर्न राज्यले सहुलियत ऋण र प्रविधि सहायता प्रदान गर्नुपर्छ । शिक्षालाई सीपमूलक बनाउन र युवालाई कृषि तथा उद्योगसँग जोड्न जरुरी छ । सरकारी खरिद प्रक्रियामा स्वदेशी वस्तुलाई प्राथमिकता दिनु पनि राज्यको जिम्मेवारी हो ।

आत्मनिर्भरता सरकारको दायित्व हो भने नागरिकको जिम्मेवारी हो । प्रत्येक परिवारले आफ्नो करेसाबारीमा तरकारी, फलफूल वा फूल खेती गर्ने हो भने आत्मनिर्भरताको भावना बढाउँछ, आर्थिक रूपमा सहयोग पु¥याउँछ । ‘स्वदेशी प्रयोग, देशको समृद्धि भन्ने भावनालाई व्यवहारमा उतार्न आवश्यक छ । हामीले विदेशी ब्रान्डका उपभोग्य बस्तुमा खर्च गर्ने रकम स्वदेशी उत्पादनमा लगानी गर्न थाल्यौं भने स्थानीय उद्योग र कृषकको आत्मबल बढ्छ । हामीले उपभोग होइन, उत्पादनमा गर्व गर्ने संस्कार विकास गर्नुपर्छ । स्वदेशी उद्योगमा लगानी गर्ने, आफ्नै हातले उत्पादन गर्ने र आफ्नै बजारलाई सशक्त बनाउने मार्ग लिन सके नेपाल आत्मनिर्भर मात्र होइन, दीगो र सम्मानजनक अर्थतन्त्रको उदाहरण बन्न सक्छ ।

Leave a Reply