आत्मनिर्भर अर्थतन्त्रका लागि आन्तरिक पर्यटन | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

आत्मनिर्भर अर्थतन्त्रका लागि आन्तरिक पर्यटन

karnali paryatan barsha

नेपाल आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका लागि प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक हो । आन्तरिक पर्यटन स्थानीय समुदायको सहभागिता हुने हुँदा रोजगारी सिर्जना, सांस्कृति संरक्षण, स्थानीय उत्पादनको बजार प्रवद्र्धन तथा समुदायको आम्दानी वृद्धि जस्ता सकारात्मक प्रभाव पार्छ । आन्तरिक पर्यटन प्रवद्र्धनले राष्ट्रिय एकता, साँस्कृतिक आदान–प्रदान तथा आत्मनिर्भर अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउँछ ।

नेपाल आन्तरिक तथा बाह्य दुबै प्रकारका पर्यटकहरूलाई आकर्षण गर्ने क्षमताको धनी छ । एउटै देशका नागरिकले आफ्नो देशभित्रका विभिन्न स्थानहरूको भ्रमण, अवलोकन गर्नुनै आन्तरिक पर्यटन हो । नेपालमा धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक क्षेत्रहरूमा आन्तरिक पर्यटनको सम्भावना धेरै राम्रो छ । पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, गोसाइँकुण्ड, मनकामना जस्ता धार्मिक स्थलहरूमा वर्षभर लाखौं नेपाली भक्तजन पुग्ने गर्दछन् ।

पोखरा, राराताल, चितवन, इलाम, घोरेपानी, शे फोक्सुण्डो, खप्तड, कञ्चनजङ्घा लगायतका प्राकृतिक गन्तव्यहरू आन्तरिक पर्यटकका लागि अत्यन्त आकर्षक छन् । ऐतिहासिक र सांस्कृतिक दृष्टिले काठमाडौं, ललितपुर, भक्तपुर, गोर्खा दरबार, तानसेन, सिन्धुलीगढी लगायतका स्थलहरूले नेपालीहरूलाई आन्तरिक घुमफिरमा प्रेरित गरेका छन् । ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, र्याफ्टिङ, बन्जी जम्पजस्ता साहसिक गतिविधिहरूले पनि युवापुस्तालाई आन्तरिक पर्यटनतर्फ तान्ने गर्छ । तर सम्भावनाहरू हुँदाहुँदै पनि नेपालमा आन्तरिक पर्यटनको विकास भने अपेक्षाकृत न्यून देखिएको छ ।

पूर्वाधारको अभाव, उचित प्रचार–प्रसारको कमी, स्थानीय निकायहरूको समन्वय अभाव, सरसफाइ र सुरक्षा जस्ता आधारभूत सेवाहरूमा कमी तथा नागरिकहरूमा पर्याप्त जानकारीको अभावलगायत विविध समस्याका कारण आन्तरिक पर्यटनले गति लिन सकेको देखिँदैन ।

यस्ता समस्याहरूको समाधान गर्न सरकार र निजी क्षेत्र दुबैको साझा प्रयास आवश्यक छ । सरकारले सडक, यातायात, खानेपानी, शौचालय, स्वास्थ्य सेवा, सूचना केन्द्रजस्ता पूर्वाधारहरूमा लगानी गर्नुपर्छ । प्रचार प्रसारका अभियानलाई व्यापक बनाउँदै विद्यालय, विश्वविद्यालय तथा समुदायमा पर्यटनप्रति रुची जगाउने कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । नीति निर्माणका क्रममा आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर कर्मचारीलाई आन्तरिक भ्रमण बिदा, विभिन्न सहुलियत दरको सेवा, गन्तव्य घोषणा लगायतका सुविधाहरू प्रदान गर्नुपर्छ ।

स्थानीय सरकारहरूसँग सहकार्य गर्दै हरेक जिल्लामा कम्तिमा एक प्रमुख आन्तरिक पर्यटकीय गन्तव्य विकास गर्न आवश्यक छ । निजी क्षेत्रले गुणस्तरीय र सस्तो होटल तथा यातायात सेवा प्रवाह गर्दै नेपाली पर्यटकलाई लक्षित प्याकेजहरू ल्याउन सक्यो भने आन्तरिक पर्यटनको संख्या बढ्न सक्छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै सामाजिक सञ्जाल, वेबसाइट तथा मोबाइल एप्समार्फत् विभिन्न गन्तव्यबारे जानकारी, बुकिङ र मार्गनिर्देशन गर्नुपर्छ । पर्यटकको आकर्षणका लागि स्थानीय संस्कृति, खाना, नृत्य, हस्तकला आदि समेटेर छुट्टै पहिचानसहितका कार्यक्रमहरू आयोजना गर्नु पर्ने देखिन्छ ।

पर्यटनले स्थानीय उत्पादन र रोजगारीमा समेत योगदान गर्ने भएकाले यसमा समुदायको प्रत्यक्ष सहभागिता गराउनु पर्छ । आन्तरिक पर्यटनको प्रवद्र्धनले राष्ट्रिय एकता, सांस्कृतिक आदान–प्रदान, ग्रामीण विकास र आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने भएकाले तिनै तहका सरकारले पर्यटनको क्षेत्रमा विषेश कार्यक्रम ल्याउनु आवश्यक छ ।

Leave a Reply