काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो ।
प्रधानमन्त्री कार्कीले आफू जेन जी आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो । त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राख्नुभयो । उहाँले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राहना पनि गर्नुभयो।
उहाँले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव पनि सुनाउनुभयो। त्यतिखेरको सुरक्षा अवस्था र भूराजनितिक परिवेशका सम्बन्धमा पनि उहाँले चर्चा गर्नुभयो। सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरुबीचको समन्वयमा जोड दिनुभयो।
दलहरुले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘दलहरुलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन। चुनाव नगरी हुँदैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन।’
भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो।





