काठमाडाैं । विश्वमा चोटपटकका घटनाको भार घट्दै गएपनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिमका कारण नेपालमा चोटपटकका घटना नियन्त्रण हुन नसकेको एक तथ्यांकले देखाएको छ । त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागबाट २०८०/८१ मा गरिएको एक अध्ययनले सातै प्रदेशका प्रमुख अस्पतालबाट चोटपटकसम्बन्धी सङ्कलन गरिएको तथ्याङ्क प्रयोग गरी यसको अवस्था, सामाजिक–जनसाङ्ख्यिकीय सम्बन्ध, आर्थिक क्षेत्रमा पारेको प्रभाव र रोकथामका उपायलाई केलाएर प्रस्तुत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले गरेको अध्ययन अनुसार नेपालमा चोटपटकका घटना नियन्त्रण हुन नसक्दा देशको स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो चुनौती सिर्जना गरेको छ । तथ्यांक संकलनपछिको अध्ययनले चोटपटकका असरले गरिबी बढाउने र दिगो विकासमा बाधा पुर्याउने भएकाले चोटपटकका घटनालाई कम गर्न तथ्यमा आधारित नीति निर्माणको आवश्यकतामा जोड दिएको छ ।
अध्ययनले देखाए अनुसार चोटपटक लाग्ने व्यक्तिमध्ये ६४ दशमलव १ प्रतिशत पुरुष रहेका छन् । उनीहरूको औसत उमेर ३४ दशमलव ४ वर्ष छ । उल्लेखनीय रूपमा चोट लागेका ७५ प्रतिशत पुरुष ४४ वर्षभन्दा कम उमेरका थिए र सबै चोटपटकका घटनाहरूमध्ये ४० प्रतिशत २५ वर्षमुनिका व्यक्तिहरूमा देखिएको थियो । यसमा पनि १५ देखि २४ वर्षको उमेर समूह सबैभन्दा बढी जोखिममा रहेको पाइयो ।
वयस्कहरू विशेष गरी ५० वर्ष र माथिका महिलाहरू, पुरुषहरू (१५ दशमलव ६ प्रतिशत) को तुलनामा चोटपटकको उच्च अनुपात (२६ दशमलव ७ प्रतिशत) मा रहेका थिए । यसले उमेर र लिङ्गअनुसार फरक फरक जोखिम रहेको सङ्केत गर्छ । यसैगरि किसान (२४ दशमलव ९ प्रतिशत) र विद्यार्थी (२९ दशमलव ६ प्रतिशत) सबैभन्दा धेरै चोटपटक लाग्ने पेसागत समूहहरू थिए । यसले कृषि कार्यका जोखिम र युवा, सक्रिय जनसङ्ख्यामा चोटपटकको जोखिमलाई झल्काउँछ । चोटपटकका कारण सालाखाला ५ दशमलव ९ दिन बिरामीले अस्पतालमा बिताउनुपरेको देखिन्छ । विभिन्न कारणबाट घाइते भएकामध्ये पनि बिजुलीको करेन्ट लागेर अस्पताल भर्ना भएका, सडक दुर्घटनाबाट घाइते भएकाले सबैभन्दा लामो समयसम्म अस्पताल भर्ना भएर नै उपचार गर्नुपरेको देखिएको छ ।
यसरी चोटपटक लागेका बिरामीमा परेको मनोसामाजिक असरले उनीहरूलाई दीर्घकालसम्म पनि सताइरहने र चोटपटकपछिको जीवन कष्टकर हुन्छ भन्नेबारेमा पनि अध्ययनमा सामेल भएका व्यक्तिहरूको तर्क छ । चोटपटक लागेका बिरामीहरूलाई उचित समयमा उद्धार र उपचार सही तरिकाबाट गर्न सकियो भने धेरै बिरामीलाई अकाल मृत्युबाट बचाउनका साथसाथै अङ्गभङ्ग हुनबाट पनि जोगाउन सकिन्छ ।
यसरी बिरामीलाई उचित उद्धार गर्नका लागि एम्बुलेन्स सेवाको विकास र विस्तार भएको छ । तर पनि यस अध्ययनमा सामेल भएका व्यक्तिहरूका अनुसार एक तिहाइले मात्र एम्बुलेन्स सेवा प्रयोग गरेको पाइयो भने बाँकीको हकमा भने घटना भएको स्थानमा जेजस्ता साधन उपलब्ध थिए, त्यसको प्रयोग गरिएको पाइयो घर र वरिपरिको वातावरण चोटपटक लाग्ने सबैभन्दा प्रमुख स्थान (४६ दशमलव ९ प्रतिशत) का रूपमा देखिएको छ ।
सडक दोस्रो सबैभन्दा धेरै चोटपटक लाग्ने स्थान (३१ दशमलव ७ प्रतिशत) छ भने कार्यस्थल र खेतबारीमा भने तुलनात्मक रूपमा कम अनुपातमा चोटपटक लाग्ने गरेको पाइएको छ । सर्वसाधारणमा दुर्घटनाका जोखिमबारे सचेतनाको कमी हुनु र यसको रोकथामका बारेमा ज्ञान नहुनु चोटपटकका प्रमुख कारक भनी यो अध्ययनले पत्ता लगाएको छ । तीव्र गतिमा गाडी चलाउनु, लापरबाहीपूर्वक गाडी चलाउनु र मदिरा सेवनजस्ता मानवीय कारकहरूले ७५ प्रतिशत सडक दुर्घटना भएको भन्ने देखिएको छ ।
चोटपटकले व्यक्तिलाई घाइते, अपाङ्ग वा मृत्यु गराउने मात्र नभई परिवारमा र समाजमा गम्भीर आर्थिक बोझ पनि थोपर्छ । भौतिक क्षति वा शारीरिक समस्याका अतिरिक्त, चोटपटकले धेरैमा मनोवैज्ञानिक असर पारेको पनि अध्ययनले प्रष्ट रुपमा देखाएको छ । त्यसैले सडक सुरक्षाका उपायहरू बलियो बनाउनसके मात्र पनि चोटपटकका घटना न्युनिकरण गर्न सकिन्छ भने उपचारमा लाग्ने व्यक्तिगत खर्च कम गर्न स्वास्थ्य बिमाको दायरा र आपत्कालीन कोष विस्तार गर्नुपर्छ । यस्तै चोटपटकका घाइतेको व्यवस्थापनमा उपचार र मनोसामाजिक परामर्श सेवालाई पनि समावेश गर्नुपर्ने अध्ययन अध्ययन प्रतिवेदनले सुझाएको छ ।





