काठमाडाैं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ । शुक्रबार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रवार (आज) देखि नै लागू भएको जानकारी दिएको हो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित चारवटा शर्त पूरा गर्नुपर्ने बताउनुभयो । कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उहाँले बताउनुभयो ।
प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताउनुभयो । यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ ।
यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ । उहाँले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौ की सक्दैनौँ भनेर सोध्ने सामर्थ्य नेपालसँग नरहेको बताउनुभयो । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको बताउनुभयो । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले वैश्विक आवागमनका चुनौती र अवसरबारे अध्ययन जरुरी रहेको बताउनुभयो ।





