काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरुसँगको छलफलमा बोल्दै उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित बनाइने बताउनुभएको हो ।
सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उहाँले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेबार बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सरकार जनताको आवाज सुन्ने, देखिने र महशुस हुने हुनुपर्ने उल्लेख गर्दै सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील रहेको पनि बताउनुभयो ।
मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले अनलाइन लगायतका सञ्चारमाध्यमहरुको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको पनि उल्लेख गर्नुभयो ।





