काठमाडौ ।
जाडो छल्न विगतमा झैँ यसवर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् । उत्तरी ध्रुवमा हिमपातको शुरूआतसँगै जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा आइपुगेका छन् ।
विगतका विवरण हेर्दा असोज दोस्रो हप्तादेखि आउन थालेका पर्यटक चरा करिब ६ महिना नेपाल रहने र त्यसपछि फर्कने चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवम् चरा अनुसन्धानकर्ता डा। हेमबहादुर कटुवालले बताए। बर्सेनि झन्डै एक सय ५० प्रजातिका चरा रुस, कीर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका छन् ।त्यसमध्ये केही प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिण भारतसम्म जाने गर्दछन ।
नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने पर्यटक चरा गएका वर्षभन्दा घट्दो क्रममा रहेकाले बासस्थान सुरक्षित र व्यवस्थित गर्न सबै सरोकार भएका निकाय लाग्नुपर्नेमा उपप्रध्यापक कटुवालले जोड दिनुभयो । उहाँका अनुसार सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको बासस्थान मानिन्छ ।




