काठमाडौ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ जना पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै झन्डै ७ हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।तिहारलगत्तै शुक्रवार बेनी–जोमसोम सडक मार्गमा यात्रुवाहक गाडीको लस्करले राष्ट्रिय राजमार्ग पूरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन उल्लेख्य बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुस्ताङमा एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए । शुक्रवार एकैदिन २ हजार १६८ यात्रुवाहक गाडी म्याग्दी हुँदै मुस्ताङ भित्रिएका लामाले उल्लेख गरे।
यसैगरी कात्तिकको एक हप्तामा बेनी–जोमसोम सडक मार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुस्ताङ भित्रिएका छन् । कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो ।
कात्तिकको पहिलो हप्तासम्म बेनी–जोमसोम सडक मार्ग हुँदै ६ हजार ७३६ गाडी मुस्ताङ भित्रिएका उनको भनाइ छ ।चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म १ लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।
मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको उनले जनाए।हिउँदयाम शुरू भइसकेकाले चिसोसमेत बढेकाले हाई–अल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाई–अल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शन कार्यमा सहजीकरण गरिएको कोषाध्यक्ष गुरुङले बताए ।
वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने उनले सुनाए ।तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौं गाडी एकैसाथ बेनी–जोमसोम सडक मार्गमा ुफ्लोु हुँदा ट्राफिक जामसमेत भएको थियो ।
मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म झन्डै ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रवार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएका बताए ।
चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रूपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपालीका कारण मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या बढेको अध्यक्ष लालचनले बताए ।
विशेषगरी दशैँ, तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ ।राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक मार्ग सहज हुँदै जान थालेपछि मुस्ताङको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ ।




