काठमाडौ ।
डिप्रेसनविरुद्धका औषधिहरुले गर्ने नकारात्मक प्रभावलाई अनुसन्धानकर्ताहरूले पहिलोपल्ट वर्गीकरण गरेका छन् । उनीहरुले बिरामीहरूमा उपचारको पहिलो आठ हप्तामा देखिएको प्रभावको अध्ययन गरेका हुन् । अध्ययनका क्रममा डिप्रेसनका केही औषधिहरूले बिरामीहरूको तौल दुई किलोसम्म बढाउने वा मुटुको धड्कनमा प्रतिमिनेट २१ धड्कनसम्मको भिन्नता ल्याउने पत्ता लागेको बीबीसीले जनाएको छ ।
अनुसन्धानकर्ताको टोलीले डिप्रेसनका लागि सामान्यतया प्रयोग हुने ३० औषधिहरूको एक सय ५१ अध्ययनहरूको विश्लेषण गरेको छ । जसमा ५८ हजार पाँच सय भन्दा बढी बिरामीहरू सहभागी थिए ।
ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित नतिजाहरूका अनुसार आठ हप्ता एगोमेलाटिन खाँदा दुई किलो चार सय ग्राम तौल घट्यो र म्याप्रोटिलिन खाँदा झन्डै दुई किलो बढायो ।फ्लुभोक्सामाइनले मुटुको धड्कनलाई २१ पटकले सुस्त बनाएको पाइयो भने नोट्र्रिप्टाइलीनले धड्कन बढाएको पाइयो ।
यसको अर्थ एउटै रोगको अवस्था भएपनि मानिसहरूको प्राथमिकता र अरु स्वास्थ्य अवस्थाहरूका आधारमा फरकफरक औषधिहरू दिनुपर्छ भन्ने कुरा अध्ययन प्रतिबेदनमा उल्लेख छ ।अनुसन्धातकर्ताहरुले डिप्रेसनको औषधि रोक्ने नभई व्यक्तिगत आवश्यकताअनुसार औषधि छनोट गर्नुपर्ने देखिएको बताएका छन् ।




