काठमाडाैं । तिहार अन्तर्गत आज धनतेरस पर्व मनाइदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ । तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा–पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।
यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ । साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ ।
यस दिन मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने चलन छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता छ । धनतेरस पर्व छिमेकी मुलुक भारतमा धुमधामका साथ मनाइन्छ। नेपालमा भने यो चलन केही वर्षयता मात्र भित्रिएको हो ।





