काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको भनिमण्डलमा बैठक बिहान साढे ८ बजेबाट शुरु भएको हो ।
केन्द्रीय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ । पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राख्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँकाअनुसार प्रत्येक केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको छ । साथै समसामयिक राजनीति, सरकारका गतिविधिका बारेमा पनि आफ्ना धारणा राख्नुभएको प्रमुख गौतमले बताउनु भयो ।
एमाले केन्द्रीय समिति सदस्यहरुको संख्या ३ सय ५७ रहेको छ । प्रदेशगत अध्यक्षहरु १० जना जोडेर ३ सय ६७ जनाले आफ्ना धारणा राखेपछि बैठक सकिनेछ ।
संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्याउनुपर्ने विषय उठेको बताउनुभयो ।
अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताउनुभयो । सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताउनुभयो ।





