ललित सिंह
बझाङ, २५ माघ । बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकाया आफै कृषि पेसामा लागेर स्थानीयलाई जागरुक बनाइ रहेका छन् । अध्यक्ष रोकायाले स्थानीयलाई जागरुक बनाउन आफै कृषि पेशामा सक्रिए भएको बताए । गाउँपालिकाको नियमित कामकाज भ्याएर रोकाया खेतबारिमा पुग्छन् ।
कृषिका माध्यमबाट गाउँपालिकाको समृद्धि गर्ने अठोट लिएका रोकाय स्थानीयलाई कृषिबाट आत्मनिर्भर हुन सिकाइ रहेका छन् । अध्यक्ष रोकाया द्वन्दको समयमा १० बर्ष बिस्थापित भएका थिए । शान्ति प्रक्रियापछि आफ्नै गाउँ फर्किएर कृषिमा आवद्ध भएका रोकायाको सफलतामा श्रीमतीको पनि उत्तिकै हात छ ।
नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका रोकाया गाउँकै प्रेरणाको स्रोत भएको स्थानीयको भनाई छ । रोकायाले चुनावमा भएको खर्च समेत खेतीपातीबाट जुटाएका हुन् ।
उनले बर्षमा ५/६ लाख कृषिबाटै आम्दानी गर्ने गरेका छन् । गाउँपालिकाले आफ्नो कार्यक्रम तथा बजेटमा पनि कृषिलाई प्रमुख प्राथमिकतामा राखेर १ करोड भन्दा बढी रकम छुट्याएको छ । अध्यक्ष रोकायले ५ वर्षमा गाउँपालिकालाई तरकारी र फलफुल खेतीमा नमुना बनाउने उद्देश्य लिएका छन् ।