बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरूको विकल्प अरू कुनै प्रणालीबाट संभव हुँदैन, तर मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रभित्रको नेतृत्व परिवर्तन नगरी राजनीतिमा देखिएको वर्तमान समस्या टालटुले तरिकाले समाधान हुन नसक्ने देखिएको छ । आगामी फागुन २१ का लागि घोषणा गरिएको निर्वाचनमा नयाँ पुस्ता, नवीन सोच र जवाफदेही नेतृत्वको माग तीव्ररुपमा भइरहेको छ ।
नेपालको वर्तमान राजनीतिक संरचना बहुदलीय प्रतिस्पर्धाको आधारमा उभिएको छ । यही व्यवस्थाले दशकौँदेखि मुलुकको शासन, विकास, सामाजिक रूपान्तरण तथा संविधान निर्माणमा मार्ग निर्देशक भूमिका खेलेको छ । तर, पछिल्लो समय देशमा दलका नेताहरुप्रति बढ्दो वितृष्णा, जनअपेक्षा र राजनीतिक अस्थिरताले बहुदलीय लोकतन्त्रको अर्थलाई नै पुनर्विचार गर्न बाध्य बनाइरहेको छ । यही सन्दर्भमा आगामी फागुन २१ गतेको निर्वाचन जनमतको मात्रै परीक्षण होइन, नेतृत्वको पुस्तान्तरणको निर्णायक अवस्था पनि आउने सम्भावना छ । बहुदलीय व्यवस्थामा दलको विकल्प अरु कुनैपनि प्रणालीबाट संभव हुँदैन । तर दलभित्रको परिवर्तन वा नेतृत्व हस्तान्तरणले प्रणालीलाई जीवन्त राख्न सक्छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता ठूला दलहरूले मुलुकको इतिहासमा निर्णायक भूमिका निर्वाह गरेका छन् । संविधान निर्माणदेखि संघीय संरचनासम्मका परिवर्तन यिनै दलहरूको सक्रियतामा सम्भव भएका हुन् । तर आज ती दलहरूको नेतृत्व सन्देह, अविश्वास र थकानको स्रोत बनेको छ । ती दलहरूका वर्तमान नेतृत्व लोकतन्त्रको जग बलियो पार्नुको सट्टा सत्ता र शक्तिको स्वादमा रमाउनमै व्यस्त भए जसका कारण जेन जीको नाममा सामाजिक बिद्रोह भयो, जसको नेतृत्व नहुँदा हिंसात्मक रुप लियो र देशका ऐतिहासिक धरोहरहरु जलेर नष्ट भयो ।
जनताको आशा र रुची नयाँ नेतृत्व, नवीन सोच र परिणाममुखी राजनीतिक अभ्यासमा रहेको छ । विगतमा भएका लोकतान्त्रिक, गणतान्त्रिक तथा समावेशी आन्दोलनहरुले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने आशा जगाएका थिए । तर, ती आशा पूरा हुन सकेका छैनन् । आजको युवापुस्ता, नागरिक समाज र सचेत वर्ग अब भाषणभन्दा परिणाममा विश्वास गर्न थालेका छन् । यही परिवर्तित चेतनाको उपज हो वर्तमानमा चर्किरहेको ‘जेन जी’ आन्दोलन, जसले राज्य प्रणालीको सुधार, जवाफदेहिता र समावेशीताको माग गरिरहेको छ ।
यदि परम्परागत दलहरूले अझै पनि पुरानै अनुहारहरू, पुरानै शैली र शक्तिकेन्द्रित राजनीति दोहो¥याउने हो भने, जनता विकल्प खोज्न बाध्य हुनेछन् । लोकतन्त्रमा विकल्पहरू जन्मन्छन्, विस्तार हुन्छन् र समयले स्थापित गर्छ । यस्तै वैकल्पिक शक्ति निर्माणको प्रक्रिया नेपाली समाजमा तीव्र गतिमा अगाडि बढिरहेको देखिन्छ । जनतामा ती विकल्पप्रति उत्सुकता बढेको छ ।
तर लोकतान्त्रिक प्रणालीको दीर्घकालीन हितका लागि दलहरूको आन्तरिक संरचनात्मक बलियोपन र आन्तरिक सुधार अनिवार्य हुन्छ । त्यो सुधारको पहिलो शर्त हो युवा पुस्तामा नेतृत्व हस्तान्तरण । पार्टीभित्रबाटै नयाँ पुस्ता, नयाँ सोच र इमान्दार कार्यशैलीका नेतृत्व जन्मिनु आवश्यक छ । इतिहास बोक्ने तर भविष्य बनाउने क्षमता राख्ने पुस्तालाई अगाडि ल्याउने उचित समय आएको छ । पुराना नेताहरूले अब मार्गदर्शक भूमिकामा सीमित रहनु नै संस्थागत रूपान्तरणको पहिलो खुड्किलो हुन सक्छ ।
यदि आगमी निर्वाचन पनि पुरानै अनुहारहरूको पुनरावृत्तिमा सीमित हुने हो भने जनताले ती दलका नेताहरुलाई स्वीकार गर्ने सम्भावना देखिदैन । दलहरूले जनताको चाहना अनुसार एउटा विकल्प रोज्नु पर्ने अवस्था सिर्जना भएको छ, जसमा जनताको चाहना अनुसार रूपान्तरणको बाटो, या जनअस्वीकृतको कठोर शिकार बन्ने बाटो । जनताले विश्वास गर्नसक्ने नेतृत्व, जवाफदेही शासन र नतिजामूलक राजनीति अबको आवश्यकता हो । पुराना दलहरूले समयमै बुझेनन् भने, लोकतन्त्रभित्रै नयाँ शक्तिहरूको उदय हुने प्रायः निश्चित छ । राजनीतिक दलका स्थानीयतहदेखि प्रदेश र संघीय समितिका सबैले बाहिर बसेर नयाँ पुस्तालाई राजनीतिक दलको नेतृत्व सुम्पनुको विकल्प देखिदैन ।
जेन जी आन्दोलन र जनताको मनोभावना अनुसार पार्टीभित्रको लोकतन्त्र, अनुशासन, विचारको प्रष्टता र नेतृत्वको पुस्तान्तरण नै आगामी निर्वाचनको निर्णायक मुद्दा बन्ने देखिन्छ । मुलुकको राजनीति संकटमा जाँदैछ भन्ने चिन्ता केवल नारामा सीमित नरही सुधारको कार्यान्वयनमा बदलिनु जरुरी छ । आगामी फागुन २१ को निर्वाचन पुरानाको पुनरावृत्ति होइन, परिवर्तनको अवसर हो।





