काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताउनुभएको हो ।
उहाँका अनुसार देशभर आएको भारी वर्षाले पुर्याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गर्नुभयो । देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको बताउनुभयो । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने निर्णय गरेको बताउनुभयो ।
नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरु सहमत नै रहेको बताउनुभयो । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उल्लेख गर्नुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमालेको केन्द्रिय समितिको बैठबाट पनि राजनीतिक दलहरुले आफ्नो धारणा स्पष्ट राख्ने जिकिर गर्नुभयो ।
अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौति आएको बताउनुभयो । यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि जिकिर गर्नुभयो । पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरुसँग एकताका लागि पहल जारी राख्ने पनि बताउनुभयो ।
उहाँले दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको बताउनुभयो । विचार मिल्नेहरुसँग एकताका लागि सकारात्मक छलफल भइरहेकोप उहाँकाे भनाइ छ।
निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलहरुसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।





