काठमाडौ ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । तर आज बेलुकादेखि भोलि बिहानसम्म यी स्थानमा भारी वर्षाको चेतावनी विज्ञहरुले दिएका छन् ।जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ ।
कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गर्नुभएको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताए ।जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरे ।
“यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ,” उनले भने ।
यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरेको राससले जनाएको छ । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा मनसुनी वायुको प्रभाव रहेको छ ।




