काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा—मासुको प्रयोगले एक सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताउनुभएको छ ।
उहाँले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो । स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले मासुका परिकारहरु बढी खाने, जंकफुडहरु खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताउनुभयो । स्वस्थ माछा मासु प्रयोग गर्नसके मात्रै पोशक तत्व प्राप्त हुने उहाँको भनाइ छ । सेकुवा, तारेर, भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताउनुभयो । छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको बताउनुभयो ।
मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने बताउनुभयो । मर्निङ वाकलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।
उहाँले दीर्घरोगीहरुले पनि आफ्नो समयअनुसार दैनिक रुपमा औषधि सेवन गर्नुपर्ने सुझाव दिनुभयो । चाडवाडका समयमा पहिलै औषधिहरु किनेर राख्न पनि सुझाव दिनुभयो । भरसक सेतो मासु खान आग्रह गर्नुभयो । कुखुरा, माछा वा अन्य पंक्षीहरुको मासु खान सुझाव दिनुभयो । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुनेले स्वास्थ्य समस्या निम्त्याउनसक्ने बताउनुभयो ।





