काठमाडाैं । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन-जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उहाँले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरुले आत्ममूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाँझ जानुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले जेन-जी पुस्ताका मागहरु सम्बोधन गर्नको लागि जेन-जीका अगुवाहरुलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।





