पर्यटन क्षेत्र पूर्ववत अवस्थामा : घुमफिरका लागि दशैँ–तिहारको समय उत्तम | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

पर्यटन क्षेत्र पूर्ववत अवस्थामा : घुमफिरका लागि दशैँ–तिहारको समय उत्तम

tourism DEWASH

काठमाडाैं । जेन–जी आन्दोलनका कारण केही दिन असहज स्थिति पैदा भएपनि हाल होटेल, रेस्टुरेण्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका छन् । पहिलेकै अवस्थामा फर्किएसँगै दशैँ-तिहारको बेला पर्यटन क्षेत्र चयायमान हुने देखिएको छ ।

नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताउनुभएको छ । शाहका अनुसार सरकारले पनि पर्यटन क्षेत्रलाई पूर्ण साथ दिएको छ र अब पर्यटकले बुकिङ रद्ध गर्नुपर्ने कुनै कारण छैन । नेपाल आउने पर्यटकलाई उनीहरुले खोजेको सेवा दिन पर्यटन क्षेत्रका सबै पक्ष तयार रहेको उहाँले बताउनु भएको छ ।

अहिले चाडपर्वको बेला भएकाले पनि नेपालमा पर्यटक आउँदा धेरै रमाइलो गरेर जान सक्ने उहाँकाे भनाइ छ। शाहका अनुसार नेपाल आउने पर्यटकका लागि लक्षित गरेर विभिन्न चाडपर्वलक्षित प्याकेजहरु समेत ल्याउने तयारी भइरहेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई अझ आकर्षित गर्न नयाँ योजना र स्किमहरू तयार भइरहेको छ ।

अध्यक्ष शाहका अनुसार अहिले नेपालका होटलहरुको क्षमता वार्षिक रुपमा ३५/३६ लाख पर्यटकलाई सेवा दिन सक्नेछ । ती पर्यटकले विश्वस्तरको सुविधा नेपालमै पाउन सक्छन् । तर अहिले नेपालमा १२ लाख मात्रै पर्यटक आउने गरिरहेका छन् । अब यो पर्यटकको संख्यालाई बढाउन जरुरी छ ।

पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट अर्बौँ लगानीमा बनाइएकाले तिनको समेत उपयोग गरेर पर्यटक भित्र्याउन सक्नुपर्ने शाहले बताउनुभयो । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति र साझेदारहरूको सहयोग र माया समेत महत्वपूर्ण भएको उहाँको भनाइ रहेको छ ।

Leave a Reply