काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन हर प्रयास गरिरहेको बताउनुभएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गर्नुभएको हाे ।
राष्ट्रपति पौडेलले मुलुकलाई सम्बोधन गर्नुपर्ने मागसहित सामाजिक सञ्जाल र काठमाडौं लगायत ठाउँमा प्रदर्शन हुन थालेपछि विज्ञप्ति आएको हो ।
राष्ट्रपतिको विज्ञप्तिमा देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिन र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न विचार विमर्श एवं हर प्रयास गरिरहेको उल्लेख छ ।
‘आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’





