काठमाडाैं । गएको सोमवारदेखि चलेको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । यसमध्ये तीन जना प्रहरी छन् ।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।
यसैगरी, निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडाैं मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना र भेरी अस्पताल नेपालगञ्जमा पाँच जनाको ज्यान गएको छ ।
अहिलेसम्म एक हजार ६१ जना घाइते भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई सय ७४ जना घाइतेको उपचार भइरहेको छ भने सात सय १९ जना उपचारपछि घर फर्किसकेका छन् ।





