काठमाडाैं । नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार पनि छलफल गर्दै हुनुहुन्छ । मङ्कलबार राति वार्ताका लागि आह्वान गर्नुभएका उहाँले बुधबार दिनभर विभिन्न पक्षसँग संवाद गर्नुभएको थियो । थप छलफलका लागि उहाँले बिहीबार सबै पक्षको बैठक बोलाउनु भएको छ ।
जेनजी प्रतिनिधिहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाएका छन् । त्यसलाई बिहीबारको छलफलले औपचारिकता दिने बताइएको छ । प्रधानसेनापति सिग्देलले हिजो दिनभर आन्दोलनरत जेन–जी पुस्ताका प्रतिनिधिहरू, धरानका मेयर हर्क साम्पाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतसँग छलफल गर्नुभएको थियो ।
उहाँले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङलगायतसँग पनि टेलिफोनमा संवाद गर्नुभएको खबर छ । प्रधानसेनापतिसँगको छलफलमा धेरैले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भए स्वीकार्य हुने सुझाव दिएका छन् ।
धेरैले पूर्वप्रधानन्यायाधीश कार्कीको कानूनी पृष्ठभूमि र अनुभवका कारण उहाँकै नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने सुझाव दिएका हुन् । तर यसमा जेन–जीका विभिन्न समूहबीच एकरूपता भने छैन । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सुशीला कार्कीको नाममा समर्थन जनाउनुभएको छ ।
यसैबीच, संसद रहेको बेला नागरिक सरकार बन्ने संवैधानिक व्यवस्था नभएको र संसद विघटन गर्ने प्रक्रिया पनि नरहेकाले यसको विकल्पबारेमा पनि छलफल भैरहेको छ । तर सरकारको कार्यकारी प्रमुख र संसद नरहेको अवस्थामा राजनीतिक जिम्मेवारी पाएका राष्ट्रपति रामचन्द्र पौडेल भने अहिलेसम्म मौन र निष्क्रिय देखिनुभएको छ । जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका मुख्य दुई दल कांग्रेस र एमालेले संविधानसम्मत, संसदीय, कानूनी र लोकतान्त्रिक मार्गबाटै समाधान खोज्नुपर्ने भन्दै राष्ट्रपति पौडेल र जेन–जी अभियन्ताहरूको ध्यानाकर्षण गराएका छन् ।





