काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को नवौं संस्करण एक भव्य समारोहका बीच सम्पन्न भएको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस चर्चित प्रतियोगिताले बालबालिकाका अद्वितीय क्षमताइ उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गरेको छ ।
प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेताहरूले आफ्नो उल्लेखनीय प्रदर्शनका साथ निर्णायक मण्डल र उपस्थित दर्शकहरूलाई आकर्षित गरे । बाल प्रतिस्पर्धीहरूको उत्साह र प्रस्तुतिले कार्यक्रममा ऊर्जाको सञ्चार गराएको थियो ।
यस वर्षका मुख्य विजेताहरूका रूपमा जुनियर गर्ल्सतर्फ आभ्या ढकाल, सिनियर ब्वाइजतर्फ जोसेफ राई र सिनियर गर्ल्सतर्फ अबनवी कार्कीले ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल-२०२५’ को प्रतिष्ठित उपाधि हात पारेका छन् । उनीहरूले आफ्नो अद्वितीय प्रस्तुति र कलाले सबैको मन जित्न सफल भएका थिए ।
विजेता तथा रनरअपहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूद्वारा पुरस्कृत गरिएको थियो, जसले उनीहरूको हौसलालाई थप बढाएको छ ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मूल उद्देश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउनु रहेको बताए । फैजुले भने, ‘यस प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउन र नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । उनीहरु विदेशमा समेत कलाका माध्यमबाट चम्कनेछन् ।’
प्रतियोगिताको कोरियोग्राफी पनि राज फैजुले नै गरेका थिए भने आकर्षक ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ हरेक वर्ष बालबालिकाका लागि एउटा रचनात्मक, प्रेरणादायी र सशक्त मञ्च बन्दै आएको छ । यसले नेपाली बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र उज्ज्वल भविष्यका लागि तयार हुन प्रोत्साहन गरिरहेको छ ।





