काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी बिरुडा भिजाएर गौरा पर्व सुरु गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
सुदूरका पहाडी क्षेत्रमा भाद्र कृष्ण वा शुक्ल पक्षको पञ्चमीमा शुरु भई अष्टमी तिथिमा सकिन्छ । यो वर्ष यो पर्व शुक्ल पक्षमा परेको हो । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकारहरु बताउछन् ।
यो पर्वमा विशेषगरी विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्छन् । सुदूरपश्चिममा मात्रै नभएर भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने परम्परा छ। गौरा भित्र्याएर पूजाअर्चना गरी दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ। त्यसै दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।
महिलाले अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिला गौराघरमा शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्छन् । गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेशअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल,ढुस्को,धमारी र देउडा खेल्ने चलन छ ।





