सप्तऋषिकाे पूजा आराधनासँगै तीज पर्व समापन | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

सप्तऋषिकाे पूजा आराधनासँगै तीज पर्व समापन

काठमाडाैं । आज ऋषि पञ्चमी नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

सप्त ऋषिको पूजा आराधनासँगै तीज व्रत पनि समापन भएकाे छ ।

हरितालिका तीजको व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र भएको कथन छ । रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।यस अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।

महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन्। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजाआराधना गर्ने गरेका छन् । योसँगै हरितालिका तिज सकिएको मानिन्छ ।

Leave a Reply