काठमाडाैं । गत सातामात्रै ८० भन्दा बढी कर्मचारीहरुको सरुवा गरेको अर्थमन्त्रालयले ९० जना अधिकृतको जिम्मेबारी हेरफेर गरेको छ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत रविन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ।
ठूला करदाता कार्यालयका ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ ।
यस्तै, अन्य दर्जनौं अर्थका अधिकृतहरुको जिम्मेबारी हेरफर गरिएको छ । यसअघि सहसचिव र उपसचिवको जिम्मेबारी हेरफेर भइसकेको छ । जसअनुसार वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उहाँको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको छ । सरकार बनेको एक वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेर्नुभएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेबारी दिनुभएको छ । सहसचिव भरतमणि पाण्डे भन्सार विभागको उपमहानिर्देशकमा सरुवा हुनु भएको छ भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
पछिल्ला दिनहरुमा अर्थमन्त्रालय मातहतका निकायहरुमा सरुवा व्यापक रुपमा भइरहँदा बजेट कार्यान्वयनको मुखमा प्रभावित हुने खतरा बढेको जानकारहरुले बताउँदै आएका छन् ।





