बाँदरको आतङ्कले बाग्लुङको ग्रामीण बस्ती नै रित्तिँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

बाँदरको आतङ्कले बाग्लुङको ग्रामीण बस्ती नै रित्तिँदै

काठमाडौँ ।
बाग्लुङको काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ । अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उनको गुनासो छ ।घरमा बुढाबुढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको कँडेलको भनाइ छ ।

बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेको उनको भनाइ छ ।किसानले सुन्तला बारीमा अदुवा लगाउने गरेका छन् । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् ।

दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताए।
काठेखोला गाउँपालिकाका दर्जनौं किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन् ।

मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् । तर बाँदरबाट बच्न उनीहरूले खेतीपाती परिवर्तन गरेका हुन् ।यस्तै बाँदरको आतङ्क नै भोजपुरका किसानको प्रमुख समस्या बनेको छ ।

वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो ।बाँदरका कारण जिल्लाका धेरै भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन् ।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौ वटै पालिकामा बाँदरले दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उनको भनाइ छ ।

Leave a Reply