काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीलाई सुरुआतदेखि नै सबैले स्वागत र सम्मान गरेका थिए, र अहिले पनि त्यो सम्मान जारी नै छ । युवापुस्तामा उनको लोकप्रियता, सशक्त बोली र काम गरेर देखाउने शैलीका कारण अपेक्षाहरु पनि थप हुनु स्वाभाविकै हो । तर, राम्रो काम गर्ने नेतृत्वले पनि आर्थिक पारदर्शिता कायम राख्न सकेन भने जनताको विश्वास गुम्ने खतरा कायमै रहन्छ ।
काठमाडौं महानगरपालिका अहिले ‘असारे विकास’ को तीव्र गतिमा दौडिरहेको छ । मनसुनको मौसमसँगै फुटपाथ निर्माणका नाममा भौतिक पूर्वाधार निर्माणको चटारोमा देखिन्छ । हुन त वर्षाको समयमा सडक खन्ने र निर्माण गर्ने काममा सरकारले नै प्रतिबन्ध लगाएको छ । यी गतिविधिहरू हेर्दा सतहमा सक्रियता देखिए पनि भित्री रूपमा धेरै अनुत्तरित प्रश्नहरूसमेत उठ्न थालेका छन् । यी फुटपाथ निर्माणका काम पूर्वयोजना अनुसारनै निर्माण भइरहेका हुन् कि होइन् ? निर्माण कार्यमा खर्चिएको बजेट पारदर्शी छ कि छैन ? जनताका गुनासो सुन्न महानगरले कुनै संयन्त्र निर्माण गरेको छ कि छैन ? जस्ता प्रश्न सचेत नागरिकले गर्ने गरेका छन् ।
हाल काठमाडौं महानगरले शहरका फुटपाथहरूमा पुनः टायल फेर्ने काम गरिरहेको छ । तर, यस्ता स्थानहरूमा पूरानै टायलहरू प्रयोग गर्न सकिने अवस्थामा रहेको स्थानीय बताउँछन् । समयमै मर्मत वा सरसफाइ गरेर उपयोग गर्न सकिने फुटपाथमा नयाँ टायल बिच्छ्याउनु अनावश्यक खर्च गरे जस्तो देखिन्छ । महानगरको यस्तो कार्यशैलीले आर्थिक अनुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ । फुटपाथ मर्मत् तथा निर्माणमा लाग्ने खर्चबारे महानगरको सार्वजनिक अभिलेखहरुमा प्रष्टरुपमा विवरण राखेको पाइँदैन ।
काठमाडौंका मेयर बालेन साहको कार्यशैलीलाई सुरुआतदेखि नै स्वागत र सम्मान गरेका थिए, यद्यपी अहिले पनि त्यो सम्मान जारी नै छ । युवापुस्तामा उनको लोकप्रियता, सशक्त बोली र काम गरेर देखाउने शैलीका कारण अपेक्षाहरु पनि थप हुनु स्वाभाविकै हो । तर, राम्रो काम गर्ने नेतृत्वले पनि आर्थिक पारदर्शिता कायम राख्न सकेन भने जनताको विश्वास डगमगिन सक्छ । कुनै पनि सार्वजनिक निकाय संघ, प्रदेश वा स्थानीय तह किन नहोस् त्यसले खर्च गर्ने प्रत्येक कारोबारको लेखाजोखा जनतासामु पेस गर्नैपर्छ । किनभने जनताको करबाट उठेको पैसाले विकास निर्माण हुन्छ, अनि त्यो पैसाको सदुपयोग वा दुरुपयोगमाथि जनताकै निगरानी पनि हुनुपर्छ । अर्को कुरा पारदर्शीता कायम भएन भने नेपालमा मात्रै नभइ विदेशमा समेत लोकप्रिय मेयरको चर्चा बटुल्न सफल बालेन साहको चर्चामा ह्रास आउन सक्छ जुन महानगरबासीका लागि मात्र नभइ देशकै लागि दुर्भाग्य हुनसक्छ ।
अर्को महत्वपूर्ण विषय भनेको खाल्डाखुल्डी, पानीको निकास र असारे विकासको परिपाटी हो । वर्षा शुरू भएलगत्तै हतारमा निर्माण गरिएका फुटपाथ पुनः भत्किन सक्छन् र पुनः निर्माणमा दोहोरो खर्च हुने सम्भावना हुन्छ । वर्षा अघि कुनै काम नगर्ने, अनि वर्षातको बीचमा हतार–हतार योजनाविहीन रूपमा बजेट सक्ने प्रवृत्तिले वर्षेनी नगरवासीलाई सास्ती मात्र दिएको छैन, शहरको सौन्दर्यमा पनि कुरुपता सिर्जना गरेको छ । महानगरमा पनि समस्या व्यवस्थापनको अभाव र सोचको समस्या देखिएझैँ लाग्छ ।
मेयर बालेन साहको नेतृत्वमा महानगरले केही नयाँ र राम्रा अभ्यासहरू पनि गरिरहेको छ । स्मार्ट सडक, स्मार्ट सिटी र गार्डेन स्ट्रिटको अवधारणा, फोहोर व्यवस्थापनको प्रयास अत्यन्तै सफल र सुधारका कामहरु हुन् । तर यी सबै प्रयासहरूमा वित्तीय अनुशासन र पारदर्शिताको अभाव भयो भने महानगरबासीमा उच्च छवि बनाएका मेयर बालेन साहमाथि नै प्रश्न चिन्ह खडा हुन सक्छ । विकासमा गति आवश्यक छ, तर त्यो गतिसँग विवेक, पारदर्शिता र जनउत्तरदायित्व पनि जोडिनुपर्छ ।
काठमाडौं महानगरले अब फुटपाथ, सडक वा अन्य पूर्वाधारको निर्माण वा पुनर्निर्माण गर्नु अगाडि स्पष्ट तत्थ्याङ्क, सार्वजनिक संवाद र लागतको हिसाब सार्वजनिक गर्नु आवश्यक छ । अन्यथा जनताले प्रश्न उठाउन सक्ने ठाउँ हुन्छन् र जवाफ दिन नसक्दा विश्वास गुम्ने खतरा पनि रहन्छ । अन्यथा, बालेन शाहजस्ता उदाउँदो नेताको छवि पनि यस्ता असंगठित, गैर–पारदर्शी अभ्यासले धुमिल हुन सक्छ ।





