'गणेशमान कृष्णप्यारी सैँजु स्मृति प्रतिष्ठान' द्वारा विशिष्ट व्यक्तिहरू सम्मानित | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

‘गणेशमान कृष्णप्यारी सैँजु स्मृति प्रतिष्ठान’ द्वारा विशिष्ट व्यक्तिहरू सम्मानित

सत्य नारायण मानन्धर
रुपन्देही । कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैँजु स्मृति प्रतिष्ठानले समाजसेवामार्फत् राष्ट्रलाई योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैँजुको ९३औँ र समाजसेवी कृष्णप्यारी सैँजुको ९२ औँ जन्मजयन्तीको अवसरमा १२ औँ पुरस्कार, सम्मान तथा भजनकिर्तन,कविता वाचन समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा समाज सेवामार्फत् राष्ट्रलाई योगदान पुर्याउने पूर्वशिक्षक लबकुमार जोशी पाल्पा, प्रकाशक बसन्तध्वज जोशी, इतिहासविद् निर्मल श्रेष्ठ, साहित्यकार शकुन्तला पौडेल, एभिन्युज टेलिभिजनका पत्रकार दामोदर ज्ञवाली, रेडियो मुक्ति बुटवलका कार्यक्रम प्रमुख प्रतिमा गौतम, समाजसेवी नारायण अग्रवाल लगायतलाई सम्मान गरेको हो ।

त्यस्तै, संस्थागत सम्मान सिद्धार्थ साहित्य परिषद् भैरहवा र विद्यामन्दिर पुस्तकालय बागलुङलाई प्रदान गरेको छ । शिक्षा छात्रवृति सुनवल स्थित जनसेवा माध्यमिक विद्यालयका दुईजना छात्र दुईजना विद्यार्थीलाई वार्षिकको पूर्ण शुल्कसहित एकमुष्ट २० हजार दुई सय ५० रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट जीपिए चार ल्याउने कान्ति माध्यमिक विद्यालयका विद्यार्थी सिजल पन्थीलाई समेत सम्मान गरिएको थियो ।

प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले समाज परिवर्तनमा कर्मयोगी समाजसेवी गणेशमान सैँजुले पु¥याएको योगदानको जति चर्चा गरे पनि नसकिने भन्दै उनले बाबुले अगाडि बढाएको कार्यलाई छोराहरुले निरन्तरता दिएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि कान्ति माध्यमिक विद्यालयका अध्यक्ष जीवनप्रसाद ओझा, विश्व हिन्दु महासघ लुम्बिनी प्रदेशका अध्यक्ष वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्री, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, सिद्धार्थ साहित्य परिषद् अध्यक्ष डिल्लीराज भट्टराई, हिरादेवी शाक्य, विश्व हिन्दु महासंघ नगर समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठ इतिहासविद् निर्मल श्रेष्ठ, बोलबम धामका संरक्षक गुरु व्याशाचार्य किशोर गौतम, प्रदीप उदय, गुरु सिमान्त खुशीलगायतले कर्मयोगी समाजसेवी गणेशमान सैँजुले देखाएको बाटोमा सबैलाई लाग्न प्रेरित गरेका थिए ।

सम्मान कार्यक्रम कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैँजु स्मृति प्रतिष्ठानसँगै विश्व हिन्दु महासंघ रुपन्देही, नवजागृति बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु बृद्धाश्रमले सहकार्य गरेका हुन् । कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैँजु स्मृति प्रतिष्ठान, बुटवल–४ ले ज्ञानोदय दिवा/रात्री माविमा विद्यार्थी छात्रवृत्ति अक्षय कोष, बुद्ध सामुदायिक टेलिभिजन उत्कृष्ट प्रत्ररिताका पुरस्कार स्थापना अक्षय कोष, लायन्स क्लब अफ बुटवलमा लायन्स उद्यमशील पुरस्कार स्थापना अक्षय कोष, बुटवल जेसिज उत्कृष्ट युवा पत्रकारिता पुरस्कार स्थापना अक्षय कोष, धौलागिरी साहित्य प्रतिष्ठान, बाग्लुङ्ग भुपि शेरचन साहित्य प्रतिष्ठान स्थापना अक्षय कोष, नेवाः पुच, बुटवल विद्यार्थी छात्रवृत्ति अक्षय कोष स्थापना, सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु वृद्धाश्रममा अक्षय कोष स्थापना, नवज्योति आदर्श बालकुञ्ज बालआश्रम अक्षय कोष स्थापना लगाएतका विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

कर्मयोगी समाजसेवी गणेशमान सैँजुको विक्रम सम्वत १९९० साउन ६ गते पाल्पामा जन्म भएको थियो भने २०७५ सालमा उहाँको देहान्त भएको थियो ।

कार्यक्रममा स्वस्तिवाचन ॐ ज्ञानज्योतिका सम्पादक कृष्णप्रसाद कोइरालाले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देही महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रम विश्व हिन्दु महासंघ रुपन्देही अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता तथा अनुपमान सैँजुको सञ्चालनमा भएको थियो ।

Leave a Reply