काठमाडाैं । नेपाली काँग्रेसले रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी एवं पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गरेको हो ।
बैठकमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो । उहाँकाअनुसार बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयले भने प्रवेश पाएन ।
बैठकमा निजामती विधेयकको ’कुलिङ पिरियड’सम्बन्धी व्यवस्था हटाउन एमालेका सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावको विषयले प्रवेश पाएको छ । नेताहरूले कांग्रेससँगको सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाए।
बैठकबारे कुरा गर्दै प्रमुख सचेतक घिमिरेले काँग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरुको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरु स्वतन्त्र रहेको र त्यही अनुसार संशोधन आएको बताएको जानकारी दिनुभयो । सरकारले ल्याएकै भूमि ऐनमा पनि काँग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा लिनु पर्ने उहाँको तर्क छ ।
कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताउनुभयो ।





