आन्तरिक उत्पादनकाे निर्यात उपेक्षामा, आयातित वस्तु निर्यात गरेर रमाउँदै सरकार | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

आन्तरिक उत्पादनकाे निर्यात उपेक्षामा, आयातित वस्तु निर्यात गरेर रमाउँदै सरकार

अर्जुन धामी
काठमाडाैं । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालको निर्यातमा ८१.८० प्रतिशतको वृद्धि भएको छ । जसलाई सरकारले ऐतिहासिक उपलब्धि नै मानेको छ, र यो सुधारको संकेत पनि हो । योसँगै कस्ता वस्तुको निर्यात गरेका कारण तथ्यांकमा सुधार देखिएको हो र त्यसमा उत्साहित भइहाल्नुपर्ने अवस्था के छ भन्ने भन्ने विश्लेषण अपरिहार्य छ ।

आम जनताले परिवर्तन, विकास र लोकतन्त्रका सपना देखिरहेको अवस्थामा देशको समग्र अवस्थाले भने चिन्ताजनक
परिस्थितिहरूको मात्रै सम्झना दिलाइरहेको छ । परिवर्तनको निरन्तरता र उपलब्धिका दाबीहरू जति भए पनि जनताको
संवेदनशीलता र अनुभूतिप्रतिको उपेक्षा, आशलाग्दो सूचकाङ्कहरूको अभाव, निराशा मनोविज्ञान आदि धेरै यथार्थबारे हेक्का
नराखीकन साशकहरु सुशासन, विकास गफ हाकिरहेका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २० खर्ब ८१ अर्बको वैदेशिक व्यापार भएको छ । जसमध्ये १८ खर्ब ४ अर्बको आयात र २ खर्ब ७७ अर्बको निर्यात भएको छ । यो निर्यात ८१.८० प्रतिशतले बढी हो । यसलाई प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारको महत्वपूर्ण उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् । यद्यपि यो तथ्यांक धेरै उत्साहित भइहाल्नुपर्ने भने होइन । निर्यातमा भएको यो बृद्धि नेपालकै आन्तरिक उत्पादनमा आधारित भने होइन् ।

गतआर्थिक वर्ष भएको सम्पूर्ण निर्यातमध्ये सूर्यमुखी तेल, पाम र भटमास तेल निर्यातले ४४ प्रतिशत हिस्सा ओगटेको छ । यो नेपाली उत्पादन नभइ अरु देशबाट एकमुष्ट ट्यांकरमा तेल ल्याएर प्याकिङ गरेरमात्रै पठाउने काम भएको हो । झट्ट हेर्दा निर्यात् आकार बढे पनि यो गति दीर्घकालसम्म नरहने भएकाले आन्तरिक उत्पादनलाई नै जोड दिनुको विकल्प छैन । तेलको कच्चा पदार्थमात्रै नभई मुलुकमा वार्षिक १० अर्ब रुपैयाँको स्याउ आयात गर्नु परेको सरकारी तथ्यांक छ । जबकि स्याउको उत्पादन नेपालकै हुम्ला, जुम्लामा अधिक छ । तर त्यसको बजारीकरण हुन नसक्दा विदेशबाट अर्बौको स्याउ खरिद गर्नुपर्ने दुर्भाग्य नेतृत्वले बुझ्नपर्ने हुन्छ ।

योसँगै मुलुकभित्र उत्पादनको प्रचुर सम्भाव्यता भए पनि वैदेशिक आयातमा निर्भर पर्नुपर्दा आर्थिक वर्ष २०८१/०८२ मा मात्रै कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु खरिद गरिएको तथ्यांकबारे भने सरकार को कुनै प्रतिक्रिया छैन । निर्यातसँगै आयात समेत बढेका कारण व्यापार घाटा पनि चुलिएकै छ । गत आवमा व्यापार घाटा १५ खर्ब २७ अर्ब पुगेको छ । कुल निर्यातभन्दा बढी ४ खर्ब ९ अर्बको कृषिउपज वस्तु आयात भएको छ । कृषिप्रधान भनिएको खेतबारी भने बाँझै छन् ।

विश्वका विभिन्न ७२ देशबाट गत आर्थिक वर्षमा ७१ करोडभन्दा बढीको जीवित जनावर आयात भएको छ । त्यस्तै, भुटान, बंगलादेश, चीन, भारत लगायतको देशबाट ७ अर्ब १० करोडको आलु भित्रीएको छ । भारतबाट मात्रै ५७ करोडको गोलभेडा र ४ अर्ब ४० करोडको प्याज नेपाल भित्रिएको छ । चीनबाट एक आर्थिक वर्षमै ६ अर्ब ६७ करोडको लसुन आयात भएको छ ।

त्यस्तै, २० करोडको सोया सस र टोम्याटो केचप आएको छ । २ करोड ४२ लाख बराबरको हुक्का फ्लेबरसँगै खाना खाएपछि दाँत कोट्याउने सिन्का समेत ७ करोड ८८ लाखको आयात भएको भन्सार विभागको तथ्यांकले परनिर्भरताको कहाली लाग्दो अवस्था उजागर गरेको छ ।

यसले कृषिप्रधान देशको परिचयलाई गिज्याइरहेको छ । स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु विदेशबाट आयात गर्नु स्वाभाविक हो । तर यहीँ उत्पादन गर्न सकिने वस्तु उत्पादन गर्न नसक्नु राज्यका निकाय र नेतृत्वको कमजोरी हो । यो तीतो यर्थाथलाई नेतृत्वले बुझेर सच्चिन जरुरी छ ।

Leave a Reply