काठमाडाैं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको हो ।
पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनु भएको हो । सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकको समापनमा अध्यक्ष ओलीले यस्तो निर्णय सुनाउनु भएको हो ।
योसँगै विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लागेको छ । एमालेले भण्डारीको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको हो ।
मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो । पूर्व राष्ट्रपति राष्ट्राध्यक्ष, संविधानको संरक्षक र राष्ट्रिय एकताको प्रतीक भएकाले कुनै दलको झन्डा बोकेर हिँड्नु संविधानको मर्म र भावना विपरीत हुने बैठकको निष्कर्ष छ ।
पार्टीकाे निर्णयमा दुईजना उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गर्नुभएको छ । उहाँहरुले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराउनु भएको छ ।
यसैबीच, केन्द्रीय कमिटीको बैठकले अर्को महत्त्वपूर्ण निर्णय गर्दै भदौमा हुने विधान अधिवेशनमार्फत वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको छ । यसका लागि पार्टीले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय लिएको हो । यसबाट विधान संशोधनको बाटो खुलेको छ ।





