काठमाडाैं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गर्नुभएको छ । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताउनुभएकाे हाे ।
उहाँले सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको बताउनुभयो । नेपालले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरु सञ्चालन गर्नेकुरा राम्रो भएको बताउनुभयो ।
‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ, बाटोघाटो गाउँगाउँमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ ।’ लोकतन्त्र आएपछि धेरै विकास निर्माणका कामहरू भएकाे उहाँकाे भनाइ छ ।
वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताउनुभयो । बसको मात्रा र बसको स्ट्याण्डर बढ्न जरुरी रहेको उहाँकाे भनाइ छ ।





