शैक्षिक प्रणाली व्यावसायिक र जीवन उपयोगी नहुनु दु:खद् | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

शैक्षिक प्रणाली व्यावसायिक र जीवन उपयोगी नहुनु दु:खद्

काठमाडाैं । नेपालमा शिक्षित जनसंख्याको दर बढ्दै गएको छ । तर शिक्षाको स्तर जति उच्च छ, बेरोजगारी दर पनि त्यति नै उच्च पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार सामान्य पढे लेखेकाभन्दा डिग्री हासिल गरेकाहरूमा
बेरोजगारी दर उच्च देखिएको छ ।

देशमा शिक्षित व्यक्तिहरुको संख्यामा बढोत्तरी भएको छ । हरेक पालिकाहरुमा विद्यालय खुलेका छन् । देशमा डेढ दर्जनको
संख्यामा विश्वविद्यालयहरु छन् । राज्यले शिक्षामा अपुग भएपनि राम्रै पैसा खर्च पनि गरेको छ । तथापि शिक्षाले व्यक्ति, समाज र देशको समृद्धिको आधार निर्माण गर्न सकेको छैन । देशको शैक्षिक प्रणाली नै जीवन उपयोगी, व्यावसायिक तथा
गरीखाने मोडलको नभएकोे विज्ञहरु बताउँछन् । हाम्रो शिक्षा न रोजगारमूलक छ न व्यावसायिक नै । विश्वविद्यालयसम्म अध्ययन गरेर पनि शिक्षित जनशक्ति बेरोजगार छ ।

राष्ट्रिय जनगणना २०७९ अनुसार नेपालमा कूल साक्षरता दर ७६ दशमलव २ प्रतिशत छ । यसमा पुरुष साक्षरता दर ८३ दशमलव ६ र महिला साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ । तथ्यांकले शैक्षिक स्तर बढ्दै गएको देखाएपनि शिक्षाको मूल उद्देश्य मानिएको रोजगारीको अवस्था चिन्ताजनक छ । शिक्षाको स्तर जतिजति उच्च छ, बेरोजगारी दर पनि त्यति नै उच्च पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो प्रतिवेदनमा नेपालमा स्नातक गरेका ६ दशमलव २ प्रतिशत बेरोजगार रहेका उल्लेख छ । जसमा ८ दशमलव १ प्रतिशत महिला र ५ दशमलव एक प्रतिशत पुरुष छन् । त्यस्तै माध्यमिक शिक्षा (प्लस टु) सम्म पास गरेका ६ दशमलव ५ प्रतिशत बेरोजगार रहेकामा महिला ६ दशमलव ८ र पुरुष ६ दशमलव २ प्रतिशतले रोजगारी पाएका छैनन् ।

तथ्यांक अनुसार अशिक्षितको हकमा ३ दशमलव ६ प्रतिशत मात्रै बेरोजगार छन् । बरु अशिक्षित वर्गमा रोजगारीको अवस्था राम्रो देखिएको छ । ६७ दशमलव एक प्रतिशत असाक्षर रोजगारीमा छन् । तर शिक्षित वर्ग आफ्ना प्रमाणपत्र दराजमा थन्क्याएर अन्तर्राष्ट्रिय बजारमा कामको खोजीमा विदेसिएका छन् । पढे लेखेको शिक्षित जनशक्तिले देशभित्र कुनै पनि पेशा खोज्न, रोज्न र टिकाउन सक्ने व्यवसायिक ज्ञान तथा सीप आर्जन गर्नै पर्ने आवश्यकता छ ।

उचित तालिम र सीप विकासमा दिइने प्राथमिकताबाट शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने र निजी तथा सार्वजनिक क्षेत्रहरूमा औपचारिक रोजगारी सिर्जना गर्ने नीतिमार्फत रोजगारीको अवस्थालाई पुनः संरचना गर्न र सम्मानजनक कामहरूलाई प्रवर्धन गर्न सघाउ पुग्ने तथ्यांक कार्यालयको प्रतिवेदनमा पनि उल्लेख छ ।

विकासित राष्ट्रहरुले विकासमा फड्को मार्न सफल हुनको पछाडि ती देशहरुले अबलम्बन गरेको गुणस्तरीय एवम् वैज्ञानिक शिक्षा प्रणाली हो । उनीहरुले शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, अनुसन्धान, कृषि, पशुपालन, अर्थशास्त्र, राजनीतिलगायतका क्षेत्रहरुमा चमत्कारिक विकास गरेका छन् । हाम्रा शिक्षित जनशक्ति पनि अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण कोरिया, खाडीमुलुक लगायतका देशहरुमा कामदारको रुपमा गईरहेका छन् ।

शिक्षितहरु विदेश पलायन हुनुको पछाडि देशको शिक्षा प्रणाली उत्पादनशील, गरी खाने सीपमा आधारित नहुनु हो । त्यसैले राज्यले तदनुरुपको शिक्षा नीति, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षण सिकाइ लगायतका क्षेत्रलाई आधुनिक, वैज्ञानिक, व्यावहारिक तथा जीवन उपयोगी बनाउनु जरूरी छ ।

Leave a Reply