पदको गरिमा बुझेन मानिसले भने आफै दिग्भ्रमित हुन्छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीति मोहले यस्तै अवस्थाको संकेत गरेको छ । राष्ट्रप्रमुख भएको मानिस पुन: राजनीतिमा प्रवेशले गणतन्त्रमाथि नै प्रश्न उब्जिएको
छ ।
बहूदलीय जनवाद सिद्धान्त प्रतिपादक नेता मदन भण्डारीकी श्रीमती हुन् पूर्वराष्ट्रपति विद्या भण्डारी । विद्या भण्डारी, मदन भण्डारीसँग विवाह भएपछि पनि राजनीतिमा खासै चर्चित नाम होइन । मदन भण्डारीको राजनीतिक उचाइ भएकै बेला सडक दुर्घटनाबाट निधन भएपछि भने भण्डारीकी श्रमती भएको नाताले विद्या भण्डारीले प्रतिनिधिसभाको टिकट पाएर विजय भएकी हुन् । त्यसपछि नेकपा एमालेको राजनीतिमा भण्डारीको सक्रियता देखिएको हो ।
नेकपा एमालेमा केपी शर्मा ओली अध्यक्ष भएपछि विद्या भण्डारी उपाध्यक्ष बनिन् । मदन भण्डारीकै योगदानका कारण केपी शर्मा ओलीले विद्या भण्डारीलाई राष्ट्रपतिको पदमा एक पटक मात्र होइन, दुई दुई पटक पुर्याए । पदको गरिमा बुझेर कुनै काम गरिनन् । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान विपरितको सिफारिसलाई लालमोहर लगाइन् । तर अदालतले दुबै पटक संसद विघटन कानुन विपरित भनेर पुनर्स्थापिथ गर्याे ।
तात्कालीन अवस्थामा प्रधानमन्त्रीको गलत कामलाई लालमोहर लगाउँदा विद्या भण्डारीको देशव्यापी आलोचना गरिएको थियो । कसैले बोकेर कुर्सीमा थपक्क राखेको मानिसले पदको गरिमा र आफ्नो हैसियत बुझ्न सक्दैन भन्ने तथ्यलाई अहिले विद्या भण्डारीले सार्थक बनाएकी छिन् । विद्या भण्डारीले राजनीति बुझेको र परिपक्व अवस्था भएको भए एमालेमा फर्किने थिइनन्
पूर्वराष्ट्रपति व्यक्ति मात्र होइन, संस्था हो । संस्था बनिसकेको मानिसले कृषि क्रान्तिको अगुवाइ गरेको भए देशले नयाँ जीवन पाउने थियो । स्वास्थ्य क्षेत्रकै अगुवाइ गरेको भएपनि नागरिकले सहज सेवा पाउन सक्थे । विश्वका धेरै पूर्वराष्ट्रपतिले एउटा क्षेत्रको अगुवाइ गरेर बसेका धेरै उदाहरण छन् ।
भण्डारीले देशबाट पाउदै आएको सेवा र सुविधा नत्यागी उपयोग गरेर नेकपा एमालेको राजनीति गर्ने हो भने उनका लागि यो निर्णय झन् नकारात्मक बन्नेछ । सक्रिय राजनीतिका लागि उनको स्वास्थ्य अवस्थासमेत ठीक छैन । भण्डारीमा नेकपा एमाले पार्टीलाई नयाँ जीवन दिनसक्ने क्षमता र कार्यकुशलता खासै आजसम्म देखिएको छैन । उनको अतृप्त चाहना भोलिका दिनमा आफ्ना दुई छोरीलाई शक्ति र सत्तामा स्थापित गर्नु हो । जुन उनको दिवा सपना मात्र हो ।
विद्या भण्डारीको एमालेमा पुनरागमनले गणतन्त्रको संस्थागत विकासमा भने प्रश्न चिन्ह खडा गरेको छ । राष्ट्रपति भइसकेको मानिस फेरि फोहोरी खेलमा हामफालेको देख्दा गणतन्त्रप्रति ओठेभक्ति मात्र हो कि भन्ने शंका जन्माएको छ । विद्या भण्डारीमाथि पार्टीमा आफ्नो स्वार्थ देख्नेहरु अहिले पनि भ्रममा छन् ।
भण्डारीलाई राजनीतिमा अरु कसैले नभइ केपी शर्मा ओलीले नै तानेका हुन् । ओलीकाविरुद्ध विष वमन गर्ने एमालेका नेताहरु भण्डारीकोमा पुग्ने र भण्डारीविरुद्ध उफ्रिनेहरु ओलीको क्याम्पमा कुदाउन र पार्टीभित्र दुई खेमा बनाउने रणनीति केपी शर्मा ओली कै हो । जसरी कांग्रेसमा बाहिरीरुपमा सभापति शेरबहादुर देउवा र डा शेखर कोइरालाले घम्साघम्सी गरेको देखाइन्छ तर विमति कसैको कसैप्रति छैन ।
यस्तै अवस्था नेकपा एमालेमा पनि बनाउने अध्यक्ष ओलीको रणनीति हो । भण्डारीसमेतको समर्थनमा भावी नेकपा एमालेको अध्यक्ष फेरि पनि ओली आफै हुने रणनीतिमा छन् । भण्डारीले अध्यक्ष दाबी गर्ने ठानेको हो भने ओलीले भण्डारीलाई पार्टीमा आउनै दिने थिएनन् ।





