सन्तोष रोकाया
धनगढी , २१ माघ । प्रदेश नम्बर ७ को पहिलो बैठकमा धराणा राख्ने अभिकांश सांसदले विकासको मुद्धामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशमा प्रचुर सम्भावना भएकाले विकासका लागि दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने सांसदहरुको भनाइ थियो । पहिलो बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका तयसमेत गरेको छ ।
प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीस्थित साविकको जिल्ला समन्वय समितिको सभाहलमा भएको पहिलो बैठक माघ २९ मा सभामुकको निर्वाचन गर्ने कार्यसूची पारित गर्दै समापन भयो । जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बसेको बैठकले सभामुख र उपसभामुको निर्वाचन नहुँदासम्म सभा सञ्चालनका लागि पाँच सदस्यीय समितिसमेत चयन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, पूर्णा जोशी, वीरमान चौधरी र कृष्ण चौधरी रहनुभएको छ । निर्धारित समय १ बजे भन्दा केही ढिला गरी सुरु भएको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलकातर्फबाट एक–एक जना सांसदले धारणा राखे ।
एमाले सांसद प्रकाश शाहले लामो समयपछि नेपालको इतिहासमा नौलो अभ्यास सुरुवात भएको भन्दै जनताका आकांक्षा र शहिदका सपना साकार बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । प्रचुर सम्भावना बोकेको प्रदेशलाई सम्बृद्ध बनाउन दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै कांग्रेसका भरत खड्काले लोकतन्त्रलाई स्थायीत्व तथा बलियो बनाउन व्यक्ति केन्द्रित हुनभन्दा पनि विधिको शासन अवलम्बन गर्नुपर्नेमा जोड दिए । अबको पालो विकासको भएको भन्दै उहाँले सबैको ध्यान विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
माओवादी केन्द्रका त्रिलोचन भट्टले आफ्नो अधिक समय शैक्षिक सवालमा बिताए । राष्ट्रको सम्बृद्धि तथा विकासमा शिक्षा क्षेत्रको भूमिका मुख्य रहने र शिक्षामा नै ७ नम्वर प्रदेश पछाडी परेकोले सबैले यसलाई मनन् गर्नुपर्नेमा जोड दिए । आफुहरु जनताबाट अनुमोदित भएकोले दलगत स्वार्थ भन्दा पनिमाथी उठेर ७ नम्वर प्रदेशलाई नमुना प्रदेशका रुपमा चिनाउन र भ्रष्टाचाररहित प्रदेश बनाउन सबैले हातेमालो गर्नु पर्ने उहाँको भनाइ थियो ।
यस्तै, राष्ट्रिय जनता पार्टीका मालतीदेवी राना थारुले थारुको हकअधिकार र पहिचानको लागि लागिपर्ने बताउनुभयो । उहाँले सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोकिनुपर्ने बताए । प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा गरी चार पार्टीका ५३ जना प्रदेश सभा सदस्य रहेका छन । प्रदेशसभाको अर्को बैठक माघ २९ गते दिउँसो १ बजे बस्ने छ । पहिलो पटक संघीय संरचनामा भएकोे वैठकलाई लिएर प्रदेशवासीहरुका साथै प्रदेशसभा सदस्यहरु पनि उत्साहित भएका छन् ।