काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा बाेल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे ।
उहाँले छलफलमा आफ्ना धारणा राख्दै नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताउनुभयो ।
कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआइजी स्वतः आइजिपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने उहाँकाे माग छ ।
सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याउनुभएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिनुभयो । यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उहाँको भनाइ छ ।





