काठमाडाैं । आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाउनुभएको हो ।
उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उहाँको भनाइ छ । सांसद शाहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्वन गरेको समेत आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो, ‘आज हाम्रा उद्योगहरु भएका छन्, व्यवसायहरु चौपट छ, व्यापारहरु लथालिङ्ग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पदान महंगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालका पूँजीहरुको जगेर्ना गर्नुपथ्र्यो । सरकराले उद्योगीहरुलाई बचाउनुपर्थ्याे । तर नेपालका पूँजी विदेशमा लैजाने र पूँजी पलायनलाई सहायता गर्ने बजेट ल्याएका छौँ । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’
उहाँले सरकार र भ्रष्टाचार पर्यायवाचीजस्तो बनेको समेत टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाउनुभयो ।




