काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उहाँले बजेटकाे अनुमान अनुसार रकम उठ्न नसक्ने बताउनुभएकाे हाे ।
अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको उहाँकाे भनाइ छ ।
उहाँले राजश्वको लक्ष्यलाई पूरा गर्न कमी कठीन रहेको बताउँदै त्यसमा सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको विचार व्यक्त गर्नुभयाे ।
आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोसिस गरेको उहाँकाे भनाइ छ ।





