सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालनकर्ताहरूलाई सूचीकृत हुनको लागि फेरि ताकेता | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालनकर्ताहरूलाई सूचीकृत हुनको लागि फेरि ताकेता

२०८२,१,२३

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालनकर्ताहरूलाई सूचीकृत हुनको लागि फेरि ताकेता गरेको छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न जारी गरिएको निर्देशिका बमोजिम नेपालमा सूचीकृत हुनका लागि पटक–पटक आग्रह गर्दा पनि सामाजिक सञ्जाल कम्पनीहरूले सम्पर्क नगरेको भन्दै मन्त्रालयले फेरि सूचना निकालेर ताकेता गरेको हो । मन्त्रालयले पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र सूचीकृत हुन भनेको थियो । तर निर्धारित मितिमा पनि सामाजिक सञ्जाल प्लेटफर्महरु सूचीकृत नआएपछि मन्त्रालयले तेस्रोपटक सूचना निकालेको हो । यसपटक भने अवधि तोकिएको छैन ।

अहिलेसम्म टिकटक, भाइबर र विटेकमात्रै दर्ता भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, उत्तरदायी र स्वनियन्त्रित बनाउन आवश्यक भएको निष्कर्ष निकाल्दै विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ को अधिकार प्रयोग गरी सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका, २०८० जारी गरेको हो ।

निर्देशिका २०८० मङ्सिर ११ गते नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, संस्था वा कम्पनीले आफ्नो प्लेटफर्म मन्त्रालयमा सूचीकृत गर्नुपर्ने, नेपालभित्र सम्पर्क विन्दु राख्नुपर्ने, आवासीय गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने र स्वनियमनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान छ ।

 

Leave a Reply