काठमाडौं । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको हो । क्षेत्री उपराष्ट्रपति कार्यालय र उर्जा मन्त्रालयमा सचिव भइसक्नुभएको छ ।
आउँदो सोमबार निजामति सेवाबाट अवकास लिन लाग्नुभएका क्षेत्रीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशकको पद सम्हाल्न बुधबार फिलिपिन्सको मनिला गएपछि सरकारले बिहीबार मुख्य सचिव नियुक्त गरेको हो ।
त्यसैगरी बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डबाट प्राप्त २ अरब ३६ करोड र जापान सरकारबाट प्राप्त २७ करोड ४७ लाख रुपैया अनुदान सहयोगलाई स्वीकृत गरेको छ ।
सरकारले सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी बार्षिक बैठक नेपालमा गर्ने निर्णय पनि गरेको छ ।