चैत २१ बिहिबार ।
काठमाडौं उपत्यकाको वायु पछिल्लो साता उच्च प्रदूषित छ ।काठमाडौंको वायु प्रदूषण सूचकाङ्क निकै अस्वस्थकर खतरनाक विन्दुमा पुगेकोले काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरहरुमा सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
यस्तै गाडीको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक ठाउँको सरसफाइमा ध्यान दिन प्राधिकरणले भनेको छ । अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न प्राधिकरणको आग्रह छ ।
यस्तै फोहरमैलाको सही व्यवस्थापन गर्न एवम् फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न पनि प्राधिकरणले भनेको छ ।स्वास्थ्य मन्त्रालयले पनि सकेसम्म घरभित्रै बस्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।