२०८१,१२,१३
मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक खुलको १४ वर्षपछि स्तरोन्नति भएको छ । २०६७ सालमा स्थानीयबासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नम्बर १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट शुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।
सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ ।
भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ । यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ लागतमा स्तरोन्नति भएको थियो ।