२०८१,१२,२०
प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज विश्वको दोस्रो नम्बरमा छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डौका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक एक्युआई दुई सयभन्दा माथि देखाइरहेको छ । सूचक घटबढ भइरहन्छ । आज बिहान ७ बजे आसपास ‘आईक्यू एअर’को तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डौ विश्वकै दोस्रो नम्बरमा परेको हो ।
एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।
मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ । सुक्खा मौसममा डढेलो लाग्ने दर उच्च हुँदा वायु प्रदूषण बढेको विभागका उपमहानिर्देशक सैलेशकुमार झाले बताउनुभयो ।




