चैत ५ मंगलबार ।
इजरायलको सेनाले गाजा पट्टीमा ठूलो हवाई आक्रमण गरेको छ । पछिल्लो आक्रमणबाट दुई सय जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।ज्यान गुमाउनेमा हमास लडाकू समूहका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बीबीसीले उल्लेख गरेको छ । कतिपय घाइते भएका छन् ।
उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि आक्रमणको क्रममा निसाना बनाइएको थियो ।गएको जनवरी १९ तारिखमा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो । गाजा युद्धविरामको थप विस्तार गर्ने वार्ता सम्झौतामा पुग्न असफल भएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले पछिल्लो पटक आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले आक्रमण गरिरहेको बताएको छ ।
हमासलाई दबाब दिन गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ ।




